संसद पुनर्स्थापना कि चुनाव ? ओली–कार्कीको एकान्त वार्ताले खोल्यो नयाँ राजनीतिक बाटो !

राजनीति 📅 Jan 10, 2026 👁️ 9 views

बालुवाटारमा सुशीला–ओली ३ घण्टा गोप्य बार्ता: चुनावी ब्रिफिङ कि भित्री ‘डिल’?

जेनजी आन्दोलनको बलमा सत्तामा आएकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्धमा आएको आकस्मिक नरमपनाले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। बिहीबार बालुवाटारमा भएको तीन घण्टा लामो ‘वान अन वान’ वार्ता केवल चुनावी तयारी र पारिवारिक स्वास्थ्य अवस्था बुझ्नमा मात्र सीमित थियो भन्नेमा विश्लेषकहरू विश्वस्त देखिंदैनन्। सामान्यतया चुनावी तयारीको ब्रिफिङ र शिष्टाचार भेटघाटका लागि तीन–चार घण्टाको समय अस्वाभाविक रूपमा लामो भएको भन्दै यसभित्र गम्भीर राजनीतिक लेनदेन वा ‘सेटिङ’ हुन सक्ने आशंका गरिएको छ।

एकाएक बालुवाटारमा ओलीको प्रवेश

बिहीबार बिहान ११ बजेतिर एमाले अध्यक्ष ओली आफ्ना दलीय नेताहरूलाई साथ नलिई नितान्त एक्लै बालुवाटार प्रवेश गरेका थिए। जेनजी आन्दोलनबाट सत्ताच्युत भएपछि प्रधानमन्त्री कार्कीप्रति आक्रामक अभिव्यक्ति दिँदै आएका ओलीको यो आकस्मिक र एकान्त भेट आफैंमा अर्थपूर्ण मानिएको छ। स्रोतका अनुसार, प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने बहानामा ओली बालुवाटार पुगेका थिए। दिल्लीमा उपचाररत सुवेदीको स्वास्थ्यलाभको कामना र पारिवारिक कुराकानीबाट सुरु भएको यो भेट अन्ततः तीन घण्टा लामो बन्द कोठाभित्रको राजनीतिक वार्तामा परिणत भएको थियो। बालुवाटार स्रोतले यसलाई ‘निर्वाचन केन्द्रित छलफल’ भनेर पुष्टी गर्न खोजे पनि यति लामो समय केवल प्रक्रियागत कुरामा मात्र खर्च भयो भन्ने पत्याउन कठिन देखिन्छ।

Kp-oli-sushila-karki-nepal-aaja

चुनावी तयारी वा भित्री लेनदेन?

प्रधानमन्त्री कार्की र ओलीबीचको यो भेटमा सतहमा चुनावको विषय देखिए पनि भित्री रूपमा गम्भीर राजनीतिक सौदाबाजी भएको आशंका गरिएको छ। एमालेले बाहिर संसद् पुनर्स्थापनाको माग राखे पनि भित्रभित्रै चुनावको तयारीलाई तीव्र बनाएको छ। निर्वाचन आयोगमा दल दर्तादेखि समानुपातिक सूची बुझाउनेसम्मका काममा एमाले, कांग्रेसभन्दा पनि अगाडि देखिनुले ओलीको ‘दोहोरो रणनीति’ लाई पुष्टि गर्छ। स्रोतका अनुसार, ओलीले सरकारले चुनाव गराउन सक्ने आत्मविश्वास कत्तिको छ भनेर नाडी छाम्न खोजेका थिए। तर, विश्लेषकहरूका अनुसार तीन घण्टाको बसाईमा जाँचबुझ आयोगमा ओलीले दिएको बयान र लगत्तै उनको जग्गा हदबन्दी फुकुवा हुनुजस्ता घटनाक्रमको समीक्षा र आगामी सत्ता समीकरणका विषयमा समेत ‘लेनदेन’ भएको हुन सक्ने सम्भावना प्रबल छ।

अविश्वास चिर्ने प्रयास र भावी संकेत

विगतमा पानी बाराबारको स्थितिमा रहेका कार्की र ओलीबीच पुस ८ गते राष्ट्रपति कार्यालयमा भएको भेटपछि संवादको ढोका खुलेको थियो। बिहीबारको भेटमा प्रधानमन्त्री कार्कीले एमालेले देखाएको चुनावी सक्रियताको प्रशंसा गर्दै फागुन २१ को निर्वाचनबाट दायाँबायाँ नहुने स्पष्ट पारेकी थिइन्। यता प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले भेट सौहार्दपूर्ण रहेको र एमाले चुनावमा सक्रिय सहभागी हुने प्रतिबद्धता आएको दाबी गरेका छन्। यद्यपि, काठमाडौंका मेयर बालेन शाहलगायतका नयाँ शक्तिहरूलाई समय नथप्ने तर एमाले अध्यक्षसँग घण्टौं गोप्य मन्त्रणा गर्ने प्रधानमन्त्रीको शैलीले आगामी राजनीतिमा पुराना दलहरूसँगै मिलेर जाने नयाँ समीकरण बन्न लागेको हो कि भन्ने प्रश्न जीवितै राखेको छ।

📅 Jan 10, 2026
👁️ 9
← Back to news

© 2026 News & Events System. All rights reserved.